अस्मिता संग धरौटी मागीएन,लामिछाने ५ लाख धरौटीमा रिहा

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ। आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाबारे चितवन जिल्ला अदालतले आदेश दिएको हो।

पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए। सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ। आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको हो।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।

रविले शालिकराम आत्महत्यामाथि कार्यक्रम चलाउन नपाउने, विदेश जान पाउने

चितवन जिल्ला अदालतको आदेशमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका रवि लामिछानेले शालिकराम पुडासैनीबारे भने कार्यक्रम चलाउन नपाउने भएका छन्। न्यूज २४ टिभीमा ‘सिधा कुरा जनतासँग’ चलाउने रवि लामिछानेले उनी पनि अभियुक्तका रुपमा जोडिएको शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भने कार्यक्रम चलाउन नपाउने चितवन जिल्ला अदालतको आदेशमा उल्लेख छ।

उनले अदालतको अनुमतिमा विदेशयात्राको अनुमति भने पाउनेछन्। पुडासैनी आत्महत्या प्रकरणमा रवि ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार