रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहायको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ।
भेला हुन नपाउने क्षेत्रहरु:
पूर्व: बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म।
पश्चिम: पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म।
उत्तर: बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक(नारायणी मावि चोक(कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म।
दक्षिण: बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।
चितवनमा झडप हुँदा डिएसपीसहित पाँच प्रहरी घाइते
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। झडपमा परि डिएसपी एकनारायण कोइरालासहित पाँच प्रहरी घाइते भएका छन्। कोइरालाको खुट्टामा चोट लागेको छ। घाइतेहरु मध्ये केहीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्याँससमेत प्रहार गरेको छ। रविलाई जिल्ला अदालतबाट प्रहरी हिरासत भित्र ल्याइसकेपछि प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको हो। रवि लामिछानेको रिहाईको माग गर्दै चिवतनमा हरेक दिन प्रदर्शन हुँदै आएको छ।
पत्रकार पुडासैनी प्रकरणमा प्रहरीले रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरेको थियो। देश सञ्चार बाट