पाँचथर २०७६ भदौ ३: पारस शाहले गरे क्षमायाचना, भन्छन्– मेरो ठाउँमा जुनसुकै नेपाली बाबु भए पनि त्यसै गर्थ्यो। पूर्वयुवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति क्षमायाचना गरेका छन् । उनले गएराति करिब १ बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत् क्षमायाचना गरेका हुन् ।
आफूले गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् ।
त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाएका छन् । उनले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गरेका हुन् । पारस निकट रहेका शिवसेना नेपाल काठमाडौंका अध्यक्ष अनिल बस्नेतले पनि पारश शाहले फेसबुकमार्फत विमानस्थलमा भएको घटना विवरण सार्वजनिक गरेको बताए ।
१२खरी बाट