एक बर्ष नबित्दै भासियो २३ बर्ष लगाएर बनेको सडक, आठ घर विस्थापित

साउन २७,२०७६: बाजुराको साँफे-मार्तडी सडकखण्डमा पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। बूढीगङ्गा नदीमा आएको बाढीले सडक कटान गरेपछि सडक भासिन थालेको छ। सडक भासिएपछि यातायात सेवा ठप्प भएको हो।

सडकको निर्माण शुरु भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौं स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि स्थानीय प्रभावित भएका छन्। गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो।

कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो। यो बर्ष नै सडक अवरुद्ध भएको यो दोस्रोपटक हो। सडक तत्काल नै निर्माण गर्न नसकिने गरी भासिएकोले पनि स्थानीयहरु लामो समय प्रभावित हुने देखिन्छ।

बूढीगङ्गा नगरपालिका १ अमकोट क्षेत्रमा पहिरोले सडक भत्किएको छ। सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी भासिएको प्रहरीले जनाएको छ। सडक भासिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताए।

‘यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो,’ उनले भने, ‘यो पहिरोको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै सकस हुने अवस्था छ।‘

सडकको आधाभन्दा बढी भाग पहिरोले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालवाहक ट्रक आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। पहिरोले भासिएको क्षेत्रमा खतराको चिन्ह लगाएर प्रहरी परिचालन गरिएको छ।

सडकखण्डको अम्कोट, द्ववारी र मलाती क्षेत्रको आधा किलोमिटरभन्दा बढी सडक नै पहिरोको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ। त्रिवेणी नगरपालिका क्षेत्रमा पर्ने पैमाको पहिरो र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टले बताए।

‘बाटो पूरै भत्केकोले अहिले सवारी साधन सञ्चालन गर्ने अवस्था छैन्,’ उनले भने, ‘पहिरोको कारण करिब ६० मिटर सड़क भासिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको छ। बाटोका लागि विकल्प खोजिए पनि तत्काल सुचारु गर्नसक्ने अवस्था छैन्।‘

सडक छेउका घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने अवस्था रहेकाले यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिए।

‘बजेट नभएपनि पछि माग गरेर पूर्ति गर्ने गरी वैकल्पिक सडक बनाइने छ। सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन्,’ उनले भने, ‘दर्जनौं सवारी साधान बल्देमै रोकिएका छन्।‘ सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताए।

आठ परिवारले घर छोडे

बुढीगंगा नदीले तीव्र कटान शुरु गरेपछि साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन्। नदीको कटानसँगै पहिरो खस्न थालेपछि उनीहरुले घर छोडेका हुन्। सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिए।

(रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार