नगरपालिकाले दियो सामुदायिक विद्यालयलाई ल्यापटप

साउन २४,२०७६: ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ। नगरपालिकाले नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो।

माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाभित्र रहेका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान गरी १६ थान ल्यापटप वितरण गरिएको उनले बताए। नगरपालकाभित्र रहेका १५ वटा माविमध्ये १३ वटा माविलाई मात्र ल्यापटप वितरण गरिएको हो।

कडेनी मावि कडेनी र पुण्यमाता मावि बेतिनीलाई नगरपालिकाबाट शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न आवश्यक कम्प्युटर, इन्टरनेट जडानका लागि रु छ लाख ५० हजारका दरले अनुदान दिइसकेकाले यसपटक ल्यापटप नदिएको नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रराज राईले जानकारी दिए।

ल्यापटपले अहिलेको आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीहरुको पठनपाठनलाई सहयोग गर्ने सगरमाथा जनता माध्यमिक विद्यालय ओखलढुङ्गाका प्रधानाध्यापक माधवप्रसाद मास्केले बताए।

अहिले धेरै शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान भए पनि आफूलाई यससम्बन्धी ज्ञान नभएको प्रधानाध्यापक मास्केले बताए।

कागजरहित शिक्षाको अवधारणासहित नगरपालिकाभित्र रहेका हिमालय मावि निशङ्खे, जनचेतना मावि भोर्ले, नारायणस्थान मावि, जाल्पा मावि गैरीगाउँ, चम्पादेवी मावि सल्लेरी, कुन्ता मावि ज्यामिरे, सगरमाथा जनता मावि, राज्यलक्ष्मी मावि सानिटार, जन्तरखानी मावि नवज्योति मावि मैदाने, कालिका मावि रुप्से र विगुटार माविलाई एकरएक थान ल्यापटप वितरण गरिएको जनाइएको छ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार