
महानगरीय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ । सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई लाख रुपैयाँ निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोइराला लुटिएकी थिइन् ।
प्रहरीले उक्त घटनाको मुख्य योजनाकार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई पक्राउ गरेको हो । तिमिल्सिना, सुजन तामाङ र पबिन तामाङ मिलेर २०७५ साल असोज २४ गते कोइरालालाई चाँगुनारायण नगरपालिका–२ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै कोइरालाको साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोनसमेत लुटपाट गरेका थिए ।
फरार रहेका तिमिल्सिनालाई शुक्रबार वृत ठिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लोकन्थली नरेफाँटबाट पक्राउ परेका तिमिल्सिनाको साथबाट लागुऔषध डाइजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थानसहित नियन्त्रणमा लिएको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
उक्त लुटपाटमा संलग्न रहेका ३ जनामध्ये तिमिल्सिना मुख्य रहेको र अन्य सुजन तामाङ र पविन तामाङ यस अघि नै पक्राउ परेका थिए । पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगी, मुद्दामा समेत संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको समेत प्रमुख कोइरालाले जानकारी दिए । (ratopati)