
साउन ३,२०७६: चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले लैनो भैँसी पाल्ने किसानलाई एक लाख रुपैयाँ अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताइन् । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही २५ हजार, व्याड बोकाका लागि २० लाई जनही ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही २५ हजारको चेक हस्तान्तरण गरिएको थियो । गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो ।
युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।
(रासस)