असार २१,२०७६ काठमाडौँ — व्यक्ति हत्याको शृंखला मच्चाएको आरोपमा प्रहरीको सर्वा्धिक खोजी सूचीमा रहेका असिम अहमद खान (बादशाह) लाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक हिंसात्मक सशस्त्र समूह खोलेर शृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

खानमाथि ०६३ देखि ०७४ सम्मको अवधिमा सात जनाको हत्या र लुटपाट गरेको आरोप छ । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, पिपरा घर भएका खान प्रहरीले खोजी तीव्र पारेपछि सीमावर्ती भारतको अलिगढवामा बस्दै आएका थिए । ०६३ जेठ १९ मा उनले कपिलवस्तु फुलिका–३ का धर्मराज बरईका छोरा सोनुलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । ०६४ फागुन ६ गते कपिलवस्तु मोतीपुरका भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरिएको घटनामा पनि उनी प्रहरीको खोजी सूचीमा थिए ।

०६५ भदौ ३० गते कपिलवस्तुकै अकला कहारको हत्यामा खान मुछिएका थिए । कपिलवस्तु पिपराका तत्कालीन गाविस सचिव राममिलनप्रसाद गुप्तालाई ०६५ कात्तिक ९ गते गोली हानी हत्या गरिएको घटनामा पनि खान संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ । ०६७ वैशाख १३ मा कपिलवस्तु पकडी ६ का माओवादी नेता राजेन्द्रप्रसाद तिवारीको हत्या, ०६४ चैत ९ गते कपिलवस्त हथिहवा ३ का माओवादीकै शिवपुजन कुर्मीलाई गोली हानी हत्या र पछिल्लो पटक ०७४ फागुन ३ मा कपिलवस्तुकै ४ वर्षीय बालक मोहम्मद अमेमानलाई अपहरण गरी हत्या गरेको आरोप पनि खानमाथि छ ।

हराएका भनिएका बालक तीन दिनपछि नालीमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानले मृत बालकका बाबु फत्तेह मोहम्मद मुसलमान स्थानीय तहको चुनावमा वडाध्यक्षमा निर्वा्चित भएपछि खानले पुरानो राजनीतिक र आर्थिक रिसइबी साँध्न बालकलाई नालीमा डुबाएर हत्या गरेका थिए ।

सीआईबीले फरार अभियुक्त खोज्ने सिलसिलामा खानलाई पक्रेको हो । उनी बच्नका लागि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । उनकी श्रीमती फौजिया खान समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी छन् । उनलाई कपिलवस्तु जिल्ला अदालतले डाँका मुद्दामा ६ महिना कैद र १ लाख ९८ हजार रुपैयाँ जरिवाना गरेको छ । ०६५ सालमा सन्दीपकुमार गुप्ताको जाहेरीमा चलेको डाँका मुद्दामा ०७२ मा फैसला भएको हो । अदालतले ५ वटा मुद्दामा उनलाई वारेन्ट काटेको छ । मुद्दामा हाजिर नहुँदा अदालतले उनको अंशसमेत रोक्का गरेको छ ।

उनी अदालतमा हाजिर नभएपछि उनको हकमा मुल्तबीमा रहेका २ वटा मुद्दा जिल्ला अदालतले ०७३ मंसिरमा ब्युँताएको थियो । परियार र कहारको हत्या अभियोगको मुद्दा ब्युँताइएको हो । उक्त हत्यामा आरोपी रहेका श्रवणकुमार मौर्य र विजयकुमार मौर्यलाई जिल्लाकै निर्णय सदर गर्दै सर्वोच्च अदालतले ०७३ जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । ०६५ मा पक्राउ परेका उनीहरू अहिले कारागारमा छन् ।

गाविस सचिव गुप्ता र माओवादी नेता तिवारीको हत्या आरोपका मुद्दा जिल्ला अदालतमा मुल्तबीमै छन् । ०६७ असार २३ मा ज्ञानबहादुर सुनारलाई हत्या गरेको आरोपको मुद्दा पनि उनको हकमा अदालतमा मुल्तबीमा छ । ‘फरार अभियुक्तको हकमा अंग पुर्‍याएर मात्र मुद्दा ब्युँताउनुपर्छ,’ जिल्ला अदालतका तहसिलदार लेखनाथ अर्यालले भने, ‘त्यसपछि मात्र बेन्चमा जान्छ ।’

उनीमाथि सोनु बरई र माओवादी कार्यकर्ता कुर्मीको हत्या आरोपमा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । ‘कर्तव्य मुद्दा २० वर्षसम्म दर्ता गर्ने म्याद हुन्छ,’ एक प्रहरी अधिकृतले भने, ‘त्यसकारण अझै अनुसन्धानमै छौं ।’ पछिल्लो पटक गत फागुनमा मायादेवी गाउँपालिका वडाध्यक्ष मोहम्मद रहमानका ५ वर्षे छोराको अपहरण गरी हत्या गरेको आरोप उनीमाथि छ । (Kantipurnews)