आज असार १५
आज दहि चिउरा खाने दिन
आमाले ठेकिबाट दहि झिक्ने बेलामा ठेकाभरि दहि देख्दा
एक्छिन अल्मलिदै,सबैभन्दा पहिला ्त्यो दहि चोर
मलाई नै सम्झंदी हुन्
घरको सिरान तलामा गुम्स्याएका ती केरा लिन पसेको बेला
सबै केरा देख्दा
आमाले सबैभन्दा पहिला त्यो केरा चोर
मलाई नै सम्झदी हुन्
जब मिठो मसिनो खाने बेला हुन्छ,
तब आफ्नो भागको अलिकति चुँडेर दिन नपाउँदा
ती बाबा अनि ती आमा मलाई नै सम्झदा हुन् ।
अनि बढ्दो हो स्वास्
लुलिँदा हुन् हात गोडा,
घोरिएर केके केके सोच्दा हुन् एक्छिन्
अनायसै झर्दो हो आँखाबाट आँसु,
अनि मनमा छछल्किँदो हो मायाको सागर,
त्यही चकचके मान्छेको ।
साँच्चै आज त असार पन्ध्र
आज धान दिवश,
धानको बिउ काढ्न भन्दै,
ब्याडमा पुगेर लडीबडी गर्ने मान्छे,
आज सामीप्यमा नपुग्दा
ती धानका ब्याडहरुले मलाई सम्झँँदा हुन् ।
आज हिलो खेल्ने दिन,
लुथ्रुक्क हुनेगरि हिलो पानीले भिजेर
बोक्रे रिसमा उत्साहित हुने,ती रोपारेहरु
आफ्नो शरिरमा एक थोपो हिलो नलाग्दा,
मलाई नै सम्झँदा हुन्
त्यो झरी परेको बेला,
त्यो खोला चलेको बेला,
अनि अन्धकारझैँ कुहिरो लागेको बेला
बेतालमै झर्दा हुन् ती खोलानाला अनि छाँगा छहराहरु
बजाउँदा हुन् घँुघँुरा घोरलचित्तलहरु
गाउँदा हुन् गीत कोइलीहरु,
अनि डाँफे झैँ छमछम् नाच्ने बेलामा ,
सम्झँदा हुन् मलाई नै ती चराचुरुङ्गीहरु ।
निथ्रुक्क भिज्ने मान्छे नहुँदा झरिले,
शरिरमा निलडाम नदेख्दा ती हल गोरुले
थाकेको बेला विश्राम गर्न बस्ने ती ढुङ्गा अनि आलीहरुले
साथैमा हुने हलो,जुवा अनि कोदालीहरुले
यो बेला मलाई नै सम्झँदा हुन् । (चेतन अाचार्य)