असार १३, २०७६ काठमाडौं स् राजधानीको कीर्तिपुरमा एकजना किशोरीमाथि सिरिन्ज आक्रमण भएको छ। बिहीबार साँझ घर नजिकै हिँडिरहेका बेला आफूलाई सिरिन्ज जस्तो धारिलो वस्तुले आक्रमण गरिएको १३ वर्षीया किशोरीले बताएकी छन्। उनी सिरिन्ज आक्रमणमा परेपछि टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा उपचार गर्नु पुगेकी छन्। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बिहीवार बेलुकी आफूलाई अपरिचित व्यक्तिले शरिरको तल्लो भागमा सिरिन्ज जस्तो धारिलो वस्तुले आक्रमण गरेको भन्दै उपचारका लागि अस्पताल आएको बताए। उनले भने, ‘हिजो बेलुकी फेरि कीर्तिपुरबाट एक १३ वर्षीय किशोरी उचारको लागि आएकी थिइन्।
अहिले उपचार गरिरहेका छौँ।’ डा. पुनका अनुसार हिजो अस्पताल पुगेकी किशोरीको घाउ हेर्दा भने धारिलो वस्तु नभएर सिरिन्ज नै हुन सक्ने अनुमान गरिएको बताए। ‘घाउको प्रकृति हर्दा सिरिन्ज नै हो जस्तो लागेपछि गम्भीररुपमा हेरिरहेका छौँ,’ उनले भने, ’आज पनि किशोरी अस्पताल आएकी थिइन्।‘ धारिलो वस्तुले आक्रमणका धेरै घटना भएपछि लागू पदार्थ दुर्व्यसनी र आपराधिक मानसिकताका व्यक्तिले यस्ता घटना गराएको हुन सक्ने डा. पुनले बताए। ‘यसअघि आउने विरामीमा सिरिन्ज नभइ धारिलो वस्तुले आक्रमण गरे जस्तो थियो।
तर अस्ती काभ्रे र हिजो कीर्तिपुरबाट आएको केश भने सिरिन्जबाटै आक्रमण भएको जस्तो देखिएको छ’, उनले भने, ’रोग सार्न नै आक्रमण भएको हो भने त्यसको पुष्टि गर्न भने हामीले कम्तीमा तीन महिना कुर्नुपर्ने हुनसक्छ।’ काठमाडौंमा महिलामाथि आक्रमणका घटना आइरहेका बेला उपत्यका बाहिर पनि ‘सिरिन्ज आक्रमण’को घटना सार्वजनिक भएपछि सर्वसाधरणमा त्रास फैलिएको छ। बनेपाकी ३४ वर्षीया युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु आइपुगेकी थिइन्। थाहा खबर बाट