
असार १०, २०७६ रौतहट: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले म्याद थप गर्न लगिएको थुनुवा बोकेको गाडी दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको छ। मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि लिएर जाँदै गरेको भ्यान दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु र ६ जना प्रहरीसहित ८ जना घाइते भएका हुन। बीरेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका १० बालचनपुरमा अचानक भ्यानको पट्टा भाच्चिएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका ६ का लागुऔषध इन्जेक्सन मुद्दामा थुनामा रहेका मुकेश भनिने निर्मल साह र सुनसरी इनरुवा नगरपालिका ९ मा सवारी ज्यान मुद्दामा थुनामा रहेका रमेशकुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए। सो दुर्घटनामा परी प्रहरीतर्फ ६ जना र २ जना थुनुवा घाइते भएका छन्। घाइते थुनुवाहरूमा अभद्र व्यहारको मुद्दामा रहेका कुमार गेलाल र टेकबहादुर तामाङ रहेका छन्।
यसैगरी प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक दिनेश चौलागाई, प्रहरी हवल्दार उमेश यादव, प्रहरी हवल्दार विनोदप्रसाद मण्डल प्रहरी जवान संजिवकुमार कार्की, हरि किशोर चौधरी तथा अजयकुमार यादव रहेका छन्।उनीहरूको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको तथा स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ। प्रहरी जवान हरिकिशोरलाई भने थप उपचारका लागि बीरगंज रिफर गरिएको चन्द्रपुर हस्पिटल प्रालिका प्रमुख डा.सुवास चौधरीले बताए। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले काठ तस्कारीमा बरामद गरेको नम्बर प्रष्ट नभएको भ्यान दुर्घटनामा परेको हो। (थाहाखबर बाट)