बैंक लुटेर सात वर्ष जेल, छुटेपछि विप्लवका चन्दा संकलक

काठमाडौं, असार १०: पेस्तोल देखाई केही हतियारधारी समूहले २०६६ सालमा झापाको लक्ष्मी बैंक लुटेको थियो। लुटेराहरूले बैंकबाट दिउँसै ७५ लाख रुपैयाँ लुटेर लगेका थिए। प्रहरीले व्यापक खोजी गरी एक दर्जन व्यक्तिहरूलाई पक्राउ गर्यो। तीमध्ये एक थिए, मोरङ कानेपोखरीका कंश धिमाल।

कानेपोखरी गाउँपालिका ६ का ३४ वर्षीय सुदीप भनिने कंशलाई असार ८ गते मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ। जेलबाट छुटेको तीन वर्ष नपुग्दै उनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो। मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीका अनुसार उनी लक्ष्मी बैंक लुटपाट घटनामा सात वर्ष जेल बसेर छुटेका हुन्। जेलबाट छुटेपछि उनी विप्लव समूहमा आवद्ध भएर गतिविधि थालेको अनुसन्धानमा खुलेको अधिकारीले बताए।

विप्लव समूहका व्यक्तिहरूले हातहतियार देखाई विभिन्न व्यक्ति संघ–संस्थाहरूबाट चन्दा असुलेको गुनासो प्रहरीमा थियो। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ ५ बजे बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित स्कुलडाँडामा को१७प ४५८६ नम्बरको मोटरसाइकल रोकेर तलासी लियो। तलासी लिँदा सुन्दर हरैचा नगरपालिका वडा नं. १२ का ४० वर्षीय अशोक राई र कंश विप्लव कार्यकर्ता रहेको पत्ता लाग्यो। चन्दा उठाउन सक्रिय जसलाई प्रहरीले खोजिरहेको थियो, दुवै जना एउटै मोटरसाइकलमा भेटिएका थिए।

दुबैमाथि प्रारम्भिक अनुसन्धान सुरू गरियो। अनुसन्धानको क्रममा हतियार लुकाएको खुलेपछि प्रहरी टोली ८ गते नै धिमालको घरमा पुग्यो। उनको घरमा अटोमेटिक पेस्तोल दुई थान, म्यागजिन चार थान र १४ वटा गोली फेला परे।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार राई विप्लवको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् भने कंश सक्रिय कार्यकर्ता। कंश आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। अधिकारीका अनुसार उनकै संलग्नतामा २०६६ सालमा उर्लाबारी मंगलबारेको सुनचाँदी पसल लुटपाट गरिएको थियो।

उनी छ महिनायता विप्लव समूहमा आवद्ध भएर चन्दा संकलनलाई तीब्र पारेको अधिकारीले बताए। ‘जनपरिषद प्रमुखसँगै हिँडेर चन्दा उठाएको भेटियो, उनी अदालतबाट प्रमाणित अपराधी हुन्,’ उनले अधिकारीले भने, ‘जेलबाट छुटेको केही समयपछि विप्लव समूहमा लागेर आपराधिक गतिविधि गरेको पाइयो।’

उनी विप्लव माओवादीको हतियारधारी दस्तामा रहेको अनुमान प्रहरीको छ। किनभने, उनको घरबाट स्वचालित पेस्तोल भेटिएका छन्। ‘दुबै अटोमेटिक पेस्तोल हुन्, ती कहाँ बनेका हुन्, लेखिएको छैन,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हतियारबारे हामी अनुसन्धान गरिरहेका छौं।’ र, यस्ता अटोमेटिक हतियार कहाँबाट विप्लव कार्यकर्ताको हातमा आइपुग्छन्, यसबारे पनि सत्य(तथ्य ल्याउने अधिकारीले बताए।

उनीहरूकै बयानका आधारमा सोमबार उर्लाबारी नगरपालिका(२ सालबारी बस्ने केन्द्रलाल धिमाललाई प्रहरीले घरैबाट पक्राउ गरेको छ। उनीबाट तीन नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासरलगायत सामग्रीसहित समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई तत्काल मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक अधिकारीले बताए। (स्राेत सेताेपाटी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार