म्याग्दी, असार ७,२०७६: बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ। सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन।
दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, योजना र नीति तथा कार्यक्रमको बारेमा छलफल हुनुपर्ने अवस्थामा यहाँ जनप्रतिनिधिबीच एक महीनायता भेटघाट र छलफल हुन नसकेको नगर उपप्रमुख सञ्जु बरुवालले बताइन्। तोकिएको समयमा बजेट नल्याउँदा सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान घट्ने, नीति तथा कार्यक्रम र बजेट पारित नगरे नगरपालिकाको अन्य कामकारवाहीमा असर पर्ने प्रमु्ख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए।
विसं २०७६ जेठ ३ गते विवाद भएपछि नगरप्रमुख हरिकुमार श्रेष्ठ कार्यालयबाट बाहिरिएका थिए। कार्यपालिका बैठकमा उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा शिक्षा, युवा तथा खेलकूद शाखामा गलेश्वर माविका जयराम सुवेदी र पौलत्स्य माविका मोहन बानियाँलाई राख्ने निर्णय गरेका थिए।
गत जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत राख्दै सो निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिए। नेकपा सम्बद्ध जनप्रतिनिधिले विशेष
नगरसभा बोलाउन माग गर्दै हुलाकमार्फत गत जेठ २७ गते नगरप्रमुख श्रेष्ठलाई पत्र पठाएका थिए। नगरप्रमुख श्रेष्ठले उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर गरेको रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ। काङ्ग्रेसबाट निर्वा्चित नगरप्रमुख श्रेष्ठ वडाध्यक्षले योजना छनोट, कार्यान्वयन र सेवा प्रवाहमा पूर्वाग्रही, अपारदर्शी र विभेदकारी शैली अपनाएको आरोप लगाएका छन्। प्रमुख श्रेष्ठले बीचैमा बैठक छाडेर गएपछि बाध्य भएर बहुमतबाट जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्नुपरेको कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताइन्। रासस