
जेठ ३१,२०७६ झापा: अत्याधिक गर्मीका कारण झापामा मलामी गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेका छन् । अत्याधिक गर्मीका कारण यादवको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार विहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहन यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो । मलामी गएका यादवसहित भद्रपुर ६ वस्ने राजु यादव पनि अत्याधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो ।
वेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उनको उपचारको क्रममा त्यही अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
(purbeli news)