बालुवाटारको टुँडालदेवी मन्दिर जति चर्चित छ, मन्दिरको ठीक सामुन्ने दस वर्षदेखि उभिएको सानो ठेला कम चर्चित छैन।
बिहान छ बजेदेखि भिड लाग्ने यो ठेलामा बेलुकी छ बजेसम्मै चहलपहल हुन्छ। प्रायः युवाहरू यहाँ आलुपरौठा खान झुम्मिन्छन्। अझ भन्नुपर्दा, ८० वर्षीया ’हजुरआमा’ ठूलीमायाको हातबाट आलुपरौठा खान।
आफ्नो भोक र जिब्रोको तलतल मेटाउन यहाँ आउनेहरूले यी हजुरआमाका फोटा र भिडिओ सामाजिक सञ्जालमा हालेका छन्। कति त त्यही हेरेर पनि आउँछन्।
ठेलाको यही आकर्षण पछ्याउँदै हामी पनि ’परौठा बनाउने हजुरआमा’ भेट्न पुग्यौं।
दिउँसो चार बजेको थियो। त्यहाँ हामीले सुनेजस्तो केही देखिएन। ठेला त थियो, तर न चर्चित हजुरआमा थिइन् न त ग्राहकको भिडभाड।
अलमलिँदै थियौं, केही छिनमै एक जना युवा टुप्लुक्क आइपुगे। उनलाई देख्दा लाग्यो, हामी गलत ठाउँमा पुगेछौं। पछि थाहा भयो, उनी हजुरआमाको यही ठेलाका कर्मचारी नारायण गिरी रहेछन्।
’म मासिक तलब लिएर यहाँ काम गरिरहेको हुँ,’ नारायणले भने।
काठमाडौंमा ठूलै लगानीको व्यवसाय चलाएर जीवन चलाउन धौधौ पर्छ। यहाँ भने ठेलाको सानो पसलमा पनि तलबी कर्मचारी!
अब त झनै ती हजुरआमालाई भेट्न हाम्रो उत्सुकता बढ्यो।
पर्खियौं। केही बेरमा हजुरआमा छोटा तर ठमठम पाइला चाल्दै आइपुगिन्।
आँखामा ठूलो कालो चस्मा, चिटिक्क कपाल कोरेर चिम्टी चेपेको। हँसिलो अनुहार। उनै रहिछन्, ठूलीमाया सुनुवार, आलुपरौठा ठेला सञ्चालक।
’हजुरआमा कति वर्ष हुनुभयो?’
’८०,’ पाइला साना भए पनि उनको जाँगर निकै ठूलो देखियो। उनलाई हेर्दा लाग्दैन थियो, उनी आफैं आलुपरौठा व्यवसाय गरिरहेकी छन्।
यो उमेरमा सामान्यतया मान्छे शारीरिक र मानसिक रूपले गल्दै जान्छ। तर मन नगलेपछि केहीले छेक्ने रहेनछ। ठूलीमायाको जोश तन्नेरीको भन्दा कम छैन।
हामीलाई उनको व्यावसायिक यात्रा सुन्न हतारो भइसकेको थियो। फुर्तिली ठूलीमायाले आफ्नो कालो चस्मा सार्दै फर्रर सुनाउन थालिन्।
दस वर्षअघि घरमा आराम गरेर बस्ने उमेरमा उनले आफ्ना हातपाखुरा चलाउन थालेकी रहिछन्। खुसी देखिन्छिन्। यो खुसीमा साथ दिन उनको परिवार भने छैन।
विगत सम्झिँदै गर्दा उनको मन अहिले पनि कटक्क दुख्छ। उनले आफ्नो कथा सुनाउँदै गइन्।
’म रामेछापको सानो गाउँमा हुर्कें। कलिलैमा बिहे भयो। गाउँको खेतीकिसानीले घरपरिवार चलाउन सकिएन। श्रीमानसँगै काठमाडौं आएँ,’ उनले भनिन्।
सुरुआती दिनमा उनले यहाँ केही काम गरिनन्। श्रीमान चौकीदार थिए। आम्दानीले घरखर्च पुग्थ्यो। विस्तारै सन्तान भए। आर्थिक भार थपिँदै गयो। ’अनि मैले पनि काम गर्ने निधोँ गरेँ,’ उनले सुनाइन्।
ठूलीमायाले पढ्न पाएकी थिइनन्। काम पाउन सहज पनि भएन। अरूको घरमा सरसफाइ गर्नु, बालबच्चा हेर्नु र लुगा धुनु उनको दिनचर्या बन्यो। काममा घोटिँदै उनी छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बुन्न थालिन्। विस्तारै यति कामले नपुग्ने देखेपछि उनी सपना साकार पार्न भारत गएर काम गर्न थालिन्।
यो २०२९ सालको कुरा। भारतमा ठूलीमायाले बच्चा हेर्ने काम गरिन्। तै एक वर्षभन्दा धेरै बस्न सकिनन्।
’भारतमा महिनाको पन्ध्र सय नेपाली रुपैयाँ तलब थियो,’ उनले भनिन्, ’चित्त बुझाएकै थिएँ, तर काम गर्दा सधैं गाली गर्थे। पछि चोरी गरेको झूटो आरोप लगाएपछि सहन सकिनँ, फर्कें।’
काठमाडौं फर्केपछि उनले एउटा होटलमा खाजा बनाउने काम थालिन्। श्रीमान जागिरे, तीन जना छोराछोरी पढिरहेका र ठूलीमाया होटलमा व्यस्त। घरव्यवहारको मेसो मिल्दै थियो।
एक्कासि उनको परिवारमा बज्रपात आइलाग्यो। उनका जेठो सन्तानको मृत्यु भयो। यो पीडाले गाँजेको थियो, अरू दुई सन्तान पनि लगातार बिरामी भइराखे।
’धेरै पैसा खर्च भयो उपचार गर्दागर्दा। निकै नहुने,’ उनले सुनाइन्।
घरमा दुःख पसिसकेको थियो। श्रीमानले त्यही बेला साथ छाडिदिए। अर्को बिहे गरे।
ठूलीमाया उनीहरूसँग बस्न सकिनन्। दुई बिरामी सन्तान लिएर बेग्लै बस्न थालिन्। होटलमा तीन हजार कमाउँथिन्। बिरामी बालबच्चाको स्याहार र उपचार खर्च धान्न, खुवाउन र कोठा भाडा तिर्न मुश्किल भयो। छोराछोरीलाई धेरै पढाउने सपना अधुरै रह्यो।
ठूलीमायाले मिहिनेत छोडिनन्। जसोतसो जीवन धानिन्।
दोस्रो बिहे गरेका उनका श्रीमान पनि बिरामी भएपछि उनीसँगै सहारा माग्न आइपुगे।
’अप्ठ्यारो समयमा मेरो साथ छोडेको थियो, तर मैले उसको उपचारमा कुनै कमी राखिनँ,’ ठूलीमायाले भनिन्। रोगले थलिएका श्रीमान निको भएनन्।
उनका सन्तान हुर्के। छोरीको बिहे भयो। छोरा आफ्नै तालमा हिँडे। बिरामी श्रीमान बिते। ठूलीमाया एक्लै भइन्।
’मेरो आफ्नो भन्नु मै हुँ, मै छु,’ उनले भनिन्।
जीवनका कस्ता(कस्ता अप्ठ्यारा जितेर अघि बढेकी ठूलीमायालाई एक्लोपनले के गलाउँथ्यो!
होटलमा खाना पकाएको अनुभव थियो। जाँगर र मिहिनेतको सर्टि्फिकेट थियो। आफ्ना लागि हातमुख जोर्ने बाटो खोज्नु थियो।
७० वर्षको उमेरमा उनले थालिन्, ठेलामा खाजा व्यापार।
ठूलीमायाले सुरूसुरूमा आलुपरौठासहित चाउमिन, अन्डाकरी, फ्राइडराइस, ममस् लगायत अरू खाजा बनाउँथिन्। बढ्दो उमेरसँगै एक्लैले सबै काम गर्न कठिन हुँदै गयो।
’पछि आलुपरौठा मात्र बेच्न थालेँ,’ उनले यति सुनाइसक्दा आलुपरौठा खानेहरू जम्मा भइसकेका थिए।
एउटा आलुपरौठा उनी ३० रुपैयाँमा बेच्छिन्। ’कति कमाइ हुन्छ? कर्मचारी पनि राख्नुभएको छ, पुग्छ?’
’महिनामा पचास हजार जति हुन्छ। उसलाई आधा दिन्छु,’ नारायण गिरीतिर हेर्दै उनले भनिन्, ’काम गर्ने मन छ, तर अचेल बिहानै उठेर काम गर्न सक्दिनँ। उता बाबुको पनि पुरानो काम गाह्रो रहेछ, त्यसैले यतै बोलाएँ।’
नारायण पहिले ट्रेकिङ सेन्टरमा काम गर्ने रहेछन्। तीन महिनायता ठूलीमायाको ठेलामा आलुपरौठा बनाउँदैछन्।
’सबैले राम्रो जागिर किन छोडेको भनेर गाली गर्छन्। तर, मलाई पछुतो छैन,’ नारायणले भने, ’यी आमाले सधैं एक्लै काम गरेको देख्थेँ। खुसी र माया दुवै लाग्थ्यो। बेलाबेला आएर सहायता गर्थेँ। पछि उहाँले नै छोरा, मसँगै काम गर। मासिक तलब दिउँला। तँ पनि राम्ररी पालिई, मलाई पनि पाल भनेपछि म तुरून्तै जागिर छाडेर यतै लागेँ।’
पाको उमेरमा पनि ठूलीमायाको लगन देखेर दंग परेका नारायण भन्छन्, ’हौसला मिलेको छ। इमानी भएर काम गरी खाँदा केही लाज हुन्न।’
कमाइ पनि पहिलेभन्दा धेरै भएको उनी बताउँछन्।
’युवाहरू नेपालमा काम नपाएर बिदेसिएको सुन्दा साँच्चै अचम्म लाग्छ,’ उनी भन्छन्, ’सानो(ठूलो नभनी जेसुकै काममा मिहिनेत गर्ने हो भने यहीँ राम्रो कमाइ गर्न सकिन्छ।’
ठूलीमायाले नारायणलाई जिम्मेवारी दिएकी छन्। तर, उनी यसै बस्दिनन्। बिहान पाँच(छ बजेदेखि नै खटिन्छिन्। उनी गरिब(दुःखीलाई सित्तैमा खान पनि दिन्छिन्। आफू ८० वर्षमा खटिइरहेकी छन्, तर कसैलाई ’काम गर’ भन्दिनन्।
’मैले शरीरमा बल हुन्जेल काम गर्ने अठोट लिएकी छु। हातखुट्टा छन्। आँखा छन्। काम गर्ने सीप छ। तर, आफूले गर्न सकेकी छु भन्दैमा अरूलाई कर लगाउनु हुँदैन,’ उनले भनिन् ’सबैको आ–आफ्नो समस्या हुन्छ। त्यसैले माग्न आउनेहरूलाई केही वचन नलगाई दान दिनुपर्छ।’
बालुवाटारमा एक्लै बसिरहेकी ठूलीमायाका लागि सोच्ने हो भने कामको विकल्पै नभएको होइन। वृद्धाश्रम नै गएर बस्न सक्थिन्, सरकारी भत्ता लिएर आफ्नो जेनतेन चलाउन सक्थिन्।
तर, ’हिम्मतवाली’ ठूलीमायाले कसैका अगाडि हात थापिनन्। अझै पनि आफ्नै मिहिनेतमा रमाउन चाहन्छिन्। आराम गरेर बस्ने सोच त छँदै छैन।
भन्छिन्, ’यी हातखुट्टा चलुन्जेल काम गर्छु।’
सेताे पाटीबाट