नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन्।

नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन्। सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ। ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्। उनको ढाड र अनुहारमा आगोले पोलेको छ। घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ। बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ। मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि राखिएको सिलिण्डर प्रहरीले बरामद गरेको छ। गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्कनु अघि नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। रासस