
मार्तडी। साँफे–मार्तडी सडकखण्डको सदरमुकाम पुग्न अब तीन किलोमिटर मात्र बाँकी छ। सदरमुकामको नगरपालिका बडीमालिका –९ सेलाघाटमा वीरबहादुर थापाको झुप्रो घर रहेको छ। घरको छेउमा साँफे–मार्तडी सडकखण्ड पर्ने गर्छ। सोही सडकमा बसेर थापा दम्पती दैनिक गिट्टी कुट्ने, कुटेको गिट्टी बेच्दै जीविकोपार्जन गर्दै आएका छन्।
थापा दम्पतीको दिनचर्या गिट्टी कुट्नु हो। बिहान श्रीमतीले खाना बनाएपनि दिउँसो दुवै मिलेर गिट्टी कुट्छन्। एक दिनमा एकले करीब चार कट्टा गिट्टी कुट्ने गरेको थापाले बताए। दिनभरि दुई दम्पती मिलेर आठ कट्टासम्म गिट्टी बनाउछन्। खटिएर लाग्यो भने प्रतिदिन करीब ८०० सम्म आम्दानी हुने थापाले बताए।
“ दिनभरि खटिएर मेहेनत ग–यो भने आठ कट्टा जति गिट्टी कुट्न सकिन्छ र दिनभरि गिट्टी कुट्दा हातमा फोका उठ्छन्, सधैँ सकिँदैन”, श्रीमती बिउरा थापाले भनिन्।”
“सिंहदरबार गाउँगाउँमा आयो भन्छन्, खै कस्तो हुन्छ हामीलाई थाहा छैन, हामीजस्तालाई जे आए नि के छ र”, थापाले दुःखी हुँदै भने। वडा कार्यालय भइसकेपछि वडा कार्यलय कहाँ छ र त्यसले के छ भन्नेबारे जानकारी नभएको उनीहरुको भनाइ थियो। अहिलेसम्म नगर र वडाले प्रदान गर्ने सेवाको बारेमा आफूलाई कुनै जानकारी नै नभएको थापाले बताए। “हामीले मजदुरी काम गरेको धेरै वर्षपछि स्थानीयस्तरमै सरकार आयो तर हामी मजदुरको केही फेरिएन” वीरबहादुरकी श्रीमतीले भनिन्।
उनका दम्पती मात्र होइनन्, जिल्लाका कतिपय महिला र पुरुष गिट्टी कुट्दै जीविकोपार्जन गर्दै आएका छन्। आर्थिक अभावका कारण घरायसी खर्च चलाउनका लागि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएको बुढीगङ्गा नगरपालिका–३ की धनदेवी रौलेले बताइन्।
खेती गर्दा छ महिना नपुग्दै खाद्यान्न अभाव हुने भएकाले गिट्टीको भारी बोकेर खर्च जुटाउने गरेको रौलेले बताइन्। श्रीमान् भारतमा कमाउन गएको भएपनि साहुको ऋण तिर्न ठिक्क हुने भएकाले आफूले घरायसी खर्च चलाउनका लागि गिट्टी कुट्ने गरेको रौलेको भनाइ थियो।
जिल्लामा कतिपय बालबालिकासमेत बिहान, बेलुका र शनिबारका दिन गिट्टी कुटेरै कापी कलमको जोहो गर्ने गरेका छन्। उनीहरुलाई हप्ताभरि स्कूल गइसकेपछि लेख्न र पढ्नका लागि के को आवश्यकता हुन्छ महसुस हुन्छ र शनिबारको दिन पर्खिरहेका हुन्छन्। अनि शनिबार बिहान सबेरै उठेर गिट्टी कुट्न।
जिल्लाको बडीमालिका नगरपालिका–९ सेलाघाटका कतिपय बालबालिकाको दिनचर्या नै गिट्टी कुट्ने भइसकेको छ। उनीहरु विद्यालय सञ्चालन भएको दिन बिहान र बेलुकी विद्यालयबाट फर्किएर गिट्टी कुट्ने गरेका छन्।
तीमध्येका एक हुन् सेलाघाटका ११ वर्षीय बालक मनोज थापा। उनले दिनभरि गिट्टी कुटेर दुई कट्टा बनाउँछन्। उनी सदरमुकाममा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययन गर्दछन्। गिट्टी उनको घर नजिकै रहेको बिजुली पावरहाउसमा लिने गरेका छन्। प्रतिकट्टा रु ६० का दरले उनले गिट्टी बेच्ने गरेका छन्। शनिबारको बिहानैदेखि बेलुकासम्म आफूले १२० कमाउने गरेको बालकले बताए।
उनले आँखाभरि आँशु पार्दै भने, “हप्ताभरि एक दिन मात्र बिदा हुन्छ, हामीलाई पनि रमाइलो गर्न मन त थियो तर के गर्नु भोलि स्कूलमा कापी, कलम चाहिन्छ ।” अर्का बालक हिमाल थापा पनि नजिकै रहेको मालिका माविमा कक्षा ६ मा पढ्छन्। उनको दिनचर्या पनि यस्तै रहेको छ। अरु दिन बिहान र बेलुका र शनिबारको दिन गिट्टी कुटेरै कापी कलमको जोहो गर्ने गरेको उनले बताए। रासस