बैशाख २२, २०७६
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई सरकारले विवादमा तान्न खोजेको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गरेका हुन् ।

‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाउनु गणतन्त्रका लागि शुभ संकेत होइन’ देउवाले भने ।

यसअघि नीति तथा कार्यक्रम संघीय संसद्मा पेश गर्ने क्रममा राष्ट्रपतिले पटक–पटक मेरो सरकार भनेकोमा कांग्रेसले आपत्ति जनाएको थियो ।

देउवाले सरकारको कामबाट जनताले ठगिएको महसूस गरिरहेको समेत बताए ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको आरोप पनि देउवाको छ । उनले आन्तरिक र बाह्य लगानीको वातावरण बनाउन सरकार असफल भएको आरोप समेत लगाए ।

सरकारको कार्यशैली र नियतबाट नीति तथा कार्यक्रममा दाबी गरिएजस्तो दोहोरो अंकको आर्थिक वृद्धि सम्भव नभएको उनको आरोप छ । रासस