चिकित्सकको आन्दोलनले बिरामीको अप्रेसन नै रोकियो

चैत २३, २०७५
काठमाडौं— समायोजनमा असहमति जनाउँदै सरकारी चिकित्सकले गरेको आकस्मिकबाहेकका सेवा बहिष्कार आन्दोलनका कारण शुक्रबार देशभर ५० हजारभन्दा बढी बिरामी मर्कामा परे । चिकित्सकको आन्दोलनका कारण बागलुङदेखि आएका एक बिरामीको शुक्रबार वीर अस्पतालमा निर्धा्रित पित्तथैलीको अप्रेसन भएन ।

गत बुधबारको सम्पर्क मितिमा अस्पताल आएर भर्ना भएपछि बिहीबार उनको अप्रेसन अगाडि गरिने परीक्षण भएको थियो । एनेस्थेसिया (लठ्याउने) विभागले अप्रेसन गर्न मिल्ने पनि बताएको थियो । तर चिकित्सक आन्दोलनले अप्रेसन रोकिँदा आफू आर्थिक, शारीरिकसँगै मानसिक तनावमा समेत परेको उनले बताए ।

अर्की बिरामी सन्जु काफ्ले पैसा नभएकाले सरकारी अस्पतालमै अप्रेसन गराउने बाध्यतारहेको बताइन् । ‘यहाँ १५ देखि २० हजार पर्छ । बाहिर गराउँदा ९० हजारसम्म पर्छ । अढाई वर्षकी नानीलाई बोकेर आएँ । दिनभरि भोकभोकै राखियो, अन्तमा आज अप्रेसन नै हुन्न भनेर फर्काइयो ।’

उनले आफूसँगै रहेका रुकुम, रोल्पालगायत ठाउँमा चिकित्सकको हडतालले बिरामीले दुःख भोग्न बाध्य रहेको बताइन् । आन्दोलनले गर्दा वीर अस्पताल, ट्रमालगायत मुलुकभरका सरकारी अस्पतालमा पूर्व्िनर्धा्रित अप्रेसन तथा परीक्षणलगायत सेवा प्रभावित भए ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार मुलुकभरका सरकारी अस्पतालको बहिरंग विभाग (ओपीडी) मा दैनिक करिब २५ हजार बिरामी पुग्ने गरेका छन् । शुक्रबारको हडतालले मुलुकभरका सरकारी स्वास्थ्य सेवा कतै आंशिक तथा कतै पूर्ण रूपमा प्रभावित भएका छन् । राजधानीको वीर अस्पतालमा मात्रै दैनिक १७ सयदेखि २ हजारसम्म बिरामी पुग्छन् । राजधानी बाहिरका बिरामी सरकारी अस्पतालमै भर पर्ने अवस्था छ ।

तराईका अञ्चल अस्पतालहरूमा दैनिक ५ सयदेखि १ हजार र जिल्ला अस्पतालहरूमा दैनिक सरदर ५० देखि एक सयसम्म बिरामी ओपीडी सेवा लिन पुग्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा ८४ जिल्ला अस्पताल र १० अञ्चल अस्पताल छन् भने काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ उपक्षेत्रीय अस्पताल छन् ।, कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार