पत्रकारकी छोरी अपहरणको आरोपमा चारजना पक्राउ

रुपन्देही: पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरण गरेको अभियोगमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

गोरु तस्करीमा संलग्नको समाचार लेखेको भन्दै पत्रकार चौहानलाई धम्की दिँदैआएका लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का मोविन फकिर लगायतका चार जनालााई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा चन्द्रिका पासी, हरेराम हरिजन र परमानन्द हरिजन छन् । गए राति अपहरणमा परेकी चौहानकी १८ वर्षीया छोरी ममता नेपाल–भारत सिमानामा फेला परेकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न र बोल्नसमेत नसक्ने उनलाई अपहरणपछि छाडेको हुनसक्ने बताइएको छ ।

गए राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० निवासबाट अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमटरको दूरीमा खेतमा फेला परेकी थिइन् ।

ममताकी आमाले बिहान उठेर हेर्दा छोरीलाई नदेखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । केही दिनअघि लुम्बिनीमा गोरु तस्करीसम्बन्धी समाचार लेखेका कारण चौहानलाई पटक पटक ज्यान मार्ने र परिवारलाई समेत पीडा दिने धम्की आइरहेको थियो । “गोरु तस्करीको समाचार लेखेपछि मलाई मार्ने धम्की दिएका थिए, मलाई तर्साउन तस्करले नै मेरो छोरी अपहरण गरेको हुनुपर्छ”, पत्रकार चौहानले भने, “समाचार लेखेकै कारण म र मेरो परिवार असुरक्षित भएको छ ।”

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले चौहानकी छोरीको अपहरणप्रति घोर भत्र्सना गरेको छ । महासङ्घ अध्यक्ष यानेन्द्र जिसी तथा सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की तथा परिवारमाथिको तनावको घटनालाई स्थानीय प्रशासनले गम्भीर रुपमा लिनुपर्ने उल्लेख छ । प्रकाशित समाचारका विषयमा चित्त नबुझे कानूनी बाटो लिनुको सट्टा धम्की दिँदा समस्या समाधान नहुने तथा अपराधीलाई यथाशक्य छिटो कानूनी दायरामा ल्याउन प्रशासनसँग आग्रह गरिएको छ । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार