श्रीमान पैसा तिरेर निस्किए, श्रीमती ५ हजार नहुँदा कारागारमै

नुवाकोट : जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको आरोपमा दुई महिनाभन्दा लामो समयदेखि एक महिला कारागारमा बस्न बाध्य भएकी छन् । बहुविवाह आरोपमा पक्राउ परेकी महिलासँगै पक्राउ परेका पुरुषले तोकिएको धरौटी रकम बुझाएर रिहा भए पनि महिलाले भने रकम तिर्न नसक्दा कारागारमै बस्न बाध्य भएकी हुन् । लिखु गाउँपालिका–६ की २५ वर्षीया अप्सरा पन्तले अदालतले तोकेको रु पाँच हजार धरौटी बुझाउन सकेकी छैनन् ।

गत पुस ५ गते लिखु–६ का ६४ वर्षीय रामशरण भेटवालसँग दोस्रो विवाह गरेको आरोपमा उजूरी परेपछि भेटवाल र पन्तलाई पुस ८ गते प्रहरीले पक्राउ गरेको थियो ।
पुस २७ गते जिल्ला अदालतले दोस्रो विवाह गर्ने भेटवाल र दोस्रो श्रीमती भनिएकी पन्तलाई क्रमशः रु १५ हजार र पाँच हजार धरौटीमा तारेखमा रिहा गर्ने आदेश दिएपछि भेटवाल तोकिएको धरौटी रकम तिरेर सोही दिन रिहा भए ।

दोस्रो विवाह गरेका भनिएका भेटवालले दोस्री श्रीमती पन्तको धरौटी रकम नतिरेपछि पन्त भने कारागार चलान भएकी हुन् । विचाराधीन मुद्दामा धरौटी रकम तिर्न नसके फैसला नभएसम्म कैद बस्नुपर्ने कानूनी व्यवस्था रहेको जिल्ला कारागारका जेलर टङ्क चिमोरियाले जानकारी दिनुभयो । अन्तिम फैसला भएका मुद्दामा भने धरौटी रकम तिर्न नसके कारागारमा बस्दा दैनिक रु तीन सयको दरले कैदमा कटौती हुँदै जाने व्यवस्था छ । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार