इथोपियन बिमान दुर्घटना: ज्यान गुमाउनेमा गोरखाकी एकता अधिकारी समेत

काठमाण्डौ । आइतबार दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपाली गोरखाकी एक युवती रहेकी खुलेको छ ।

गोरखा घर भई इथोपियाको अदिसअबाबास्थित विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी) कार्यालयमा सप्लाई चेन अफिसरको रुपमा कार्यरत एकता अधिकारीको दुर्घटनामा मृत्यु भएको खुलेको हो ।

उनी आफ्ना ४ सहकर्मीसहित नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाने क्रममा इथोपियन बिमान दुर्घटनामा परी मारिएकी हुन् ।

विभिन्न एजेन्सीहरुले डब्लूएफपीका कार्यकारी निर्देशक डेबिड बेस्लीलाई उद्धृत गर्दै विमान दुर्घटनामा डब्लूएफपीका कर्मचारी पनि परेको पुष्टि गरेका बताएका छन् ।

मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको बताइएको छ ।

समाचारमा जनाइए अनुसार एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी पाएकी थिइन ।

स्रोतहरुका अनुसार गोरखाकी एकताले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।

विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो । मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार