नेपालमै सुरु भयो ‘वाटर एटिएम’ नोटको सट्टा पानी झार्ने

काठमाडौँ : बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ ।

नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट पानी झारेर पिउनुभएको थियो ।काठमाडौँ उपत्यकाका २० स्थानमा वाटर एटीएम मेसिन जडान गरिनेछ । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिनुभयो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ ।

उक्त एटीएमबाट २०० मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । दुई सय मिलिलिटर पानीको मूल्य रु दुई र एक लिटर पानीको मूल्य रु १० राखिएको छ । उक्त एटीएममा रु दुईको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था मिलाइएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ । सो अवसरमा मन्त्री मगरले बाटोमा हिड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्दै पिउने पानीको गुणस्तरलाई ध्यान दिन बोर्डलाई निर्देशनसमेत दिनुभएको छ । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार