चरिकोट : उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।
‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्दबिच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।
‘२०५० सालदेखि झैझगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने, ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ श्रीमतीले २०७३ चैतमा अंश चलन मुद्दा हालेको उनले सुनाए । भने, ‘मैले अंश दिएँ ।’
पत्नीलाई उनले २०७४ साउन २६ गते काठमाडौंमा भेटेर वृद्ध अवस्थामा रोगले च्यापेर हात गोडा चल्न छोडिसकेकाले सँगै बस्न आग्रह गरेको उनले सुनाए । ‘तर अंश लिइसकेकाले सँगै बस्न नसक्ने जवाफ दिएपछि सम्वन्ध विच्छेद गर्नु नै उचित ठानी निवेदन दर्ता गराएँ’, सम्बन्ध विच्छेद गर्नुपर्ने भित्री कारण खुलाउँदै उनले भने, ‘सबै त सकियो भने किरिया चाँही किन बाँकी राख्नु त ।’यो समाचार रवीन्द्र गौतमले अन्नपूर्णमा लेखेका छन् ।