मन्त्री अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

काठमाडौ । ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्ये दुईको शव सनाखत भएको छ । मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो । अन्य शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबैको शव पूर्ण रुपमा जलेका कारण पहिचानमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ । अहिले पोष्र्टमाटम कार्य भैरहेको छ । यसै बिच हेलिकोप्टरमा दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

भोली बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि शव राखिने जनाइएको छ । शव पोष्टमार्टम गर्दा समय बढि लाग्ने भएकोले श्रद्धान्जली कार्यक्रम भोलि हुने, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट मार्फत जानकारी दिनु भएको छ । टुँडिखेलमा राखिए पछि मात्रै अधिकारीको शव पोखरा लगिने छ । अन्यको शव भने आफन्तलाई बुझाइने छ ।

यसअघि, आजै टुँडिखेलमा श्रद्धाञ्जलीको कार्यक्रम थियो । दुई जनाको मात्रै सनाखत भएको छ भने अन्यको भने हुन सकेको छैन । अब डिएनएबाट शव सनाखत गरिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनु भयो ।

यसै बिच अधिकारीको दुर्घटनामा मृत्यु भएपछि काठमाडौं आएका उनका आमाबुबा पोखरा फर्किएका छन् । बुद्ध एयरको विमानबाट आफन्त सहित उहाहरु पोखरा फर्किनु भयो । अधिकारीका आमा बा विमानस्थल पुग्दा भावविह्वल बनेका थिए ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिबालयको बैठक पनि बसेको छ । बैठकले देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैंठकले गरेको छ । नेकपाले श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ ।

नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । (NRN)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार