कम्युनिस्ट सत्तामा जनताका अधिकार सुरक्षित हुँदैनन्ः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने दोहोर्याएउनुभएको छ । उहाँले जनताका अधिकारहरु खोसेकै कारण उनिहरुको पतन हुदैगएको र नेपालमा भएका कम्युनिष्टहरुले पनि त्यही बाटो समातेको बताउनुभएको छ ।

शुक्रबार पोखरामा सुरु भएको डेमोक्रेटिक लर्यस एसोसियसनको वार्षिक साधरणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार प्रजातन्त्रका मूल्य–मान्यताविपरित गएको दावी गर्दै प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।

देउवाले लामो संघर्षबाट आएको यो व्यवस्थाका विरुद्धमा सरकार लागेको भन्दै संघीय लोकतान्त्रिक व्याव्स्था बचाउन जनता जाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले संविधानले एउटा व्यवस्था गरेको तर, सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएर संवैधानिक राष्ट्रपतिलाई विवादमा तानेको दावी गनूुभयो ।

“यो सरकार संवैधानिक परिषद्मा सहमतिको बाटो रोक्न खोज्दैछ । संवैधानिक आयोगहरुलाई कठपुतली बनाएर कब्जा गर्न खोजिरहेको छ । आयोगहरु शाही आयोग बनाउन खोजिरहेको छ,” उहाँले भन्नुभयो, “प्रजातन्त्रका मूल्य–मान्यताविरुद्ध गए हामी कुनै हालतमा छोड्ने छैनौं ।”

सभापति देउवाले सरकारका लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सदनमा मात्रै नभएर सडकमा पनि लड्नुपर्ने समय आएको जिकिर गर्दै कानुन व्यवसायीहरुलाई लड्नका लागि तयार भएर बस्न आग्रह गर्नुभयो ।

“कम्युनिस्टको काम विस्तारै जनताका हकअधिकार खोस्ने हो । न्यायालय खोस्दैछ, पत्रकारको अधिकार खोस्दैछ । पत्रकारहरु त बोल्नै डराउन थालिसके,” उहाँले भन्नुभयोे, “यसका विरुद्ध सदनमा मात्रै होइन अब सडकमै जानुपर्ने भइसकेको छ । लड्न सबै तयार भएर बस्नुस् ।”

न्यायपालिका स्वतन्त्र भए सरकारका बदमासीलाई रोक्ने र स्वतन्त्र नहुँदा प्रजातन्त्र खोसिने सभापति देउवाको भनाइ थियो । “न्यायपालिका स्वतन्त्र भयो भने जुनसुकै सरकार भए पनि बदमासी गरे सही गर्न सक्छ,” उहाँले, “न्यायपालिका जुन दिन स्वतन्त्र हुँदैन त्यो दिन प्रजातन्त्र कब्जा हुन्छ, हुन्छ ।” देउवाले कम्युनिस्टहरु प्रजातन्त्रवादी हुनै नसक्ने दाबी गर्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो । “कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो । कहाँ राष्ट्रवादी रह्यो,” देउवाले भन्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेको देउवाको टिप्पणी थियो ।

(radionrn)